जब मैलें गरेँ प्रेम कसैलाई
सपना भयो थिलोथिलो
जब मैले गरेँ प्रेम कसैलाई/सबैलाई
एकाबिहानै मेरा आँखाबाट गायव भयो सपना
र खोज्न थालेँ सूचनाको आहालमा
मध्यरातमा अँगालोमा बेरिएकी तिमी
छातीमा उमारेर लालिगुराँसको फूल
गलामा बेरिएर ममताको आँचल
निधारभरि चुम्वनको छाप छोडेर
एकाबिहानै किन गायव भएको
मैले बुझिरहेको छैन
कतै पँधेरा पो गयौ कि, प्यासले
कतै बारीको कान्लातिर
गोडमेल पो गर्दैछ्यौ कि झारपात
कि हिस्रक जनावरको पञ्जामा प¥यो
म अन्योलग्रस्त भएर
डुबिरहेको छु, सूचनाको आहालमा
र छामिरहेछु तिमीलाई
तिम्रो मधुर भ्वायलिनकोजस्तो स्वर
सुनिदैन किन कतै पनि
तिमी किन हरायौ ?
मैले बुझिरहेको छैन
तिमीभित्र बगिरहने
आस्थाको नदी
किन सुक्दै गयो खङग्रङ्ग टारीका गरा झैँ
र तिमीले बोकेको विचारको डोकाभित्र
कसरी थुप्रिए
पुराना थाङ्नाहरु
अझै पनि तिमीभित्रको
पुरातन स्थापत्यले
डसिरहनुको प्रयोजन
किमार्थ मैले बुझिरहेको छैन
तिम्रो पलायनको तात्पर्य
तिम्रो डायरीका थोत्रा पानाहरु च्यातेर
कता टाँसु तिमी हराएको सूचना
र कता खोजूँ तिम्रो वाचाल आकृति ?
प्रकाशित मिति: शुक्रवार, आश्विन २३, २०७७, १२:१२:००