आज देशभरका अदालतहरुमा शोक बिदा दिइएको छ । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलवार साँझ निधन भएको थियो ।
सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मेका सिंह, २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएको थियो ।यसैबीच, सर्वोच्च अदालत आज विदा भएपछि नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सरेको छ ।यसअघि गत बिहीबार सर्वोच्च अदालतले आज अर्थात् फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
प्रकाशित मिति: बिहिवार, फाल्गुन २०, २०७७, ०३:३४:००